काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। उनको आठदिने चीन भ्रमण भदौ ७ देखि १४ गते अर्थात् अगस्ट २३ देखि ३० सम्म हुने तय भएको लामिछानेनिकट एक नेताले जानकारी दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन्। रास्वपाले सरकारको नेतृत्व सम्हालेपछि उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमणसमेत गरेका थिए।
लामिछानेको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेटवार्ता भने नहुने भएको छ। उनको प्रारम्भिक भ्रमण तालिकामा सीसँग भेटको कार्यक्रम समावेश छैन।
भ्रमणबारे जानकार एक अधिकारीका अनुसार चीनको प्रोटोकलअनुसार राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै राष्ट्रपतिले भेटवार्ता गर्ने भएकाले लामिछानेको सीसँग भेट सम्भव नभएको हो। लामिछानेले यसअघि राष्ट्रपति सीसँग भेट हुने निश्चित भए मात्र चीन भ्रमणमा जाने बताएका थिए ।
लामिछानेको बेइजिङ भ्रमणका क्रममा चीनका उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता हुने लगभग तय भएको बताइएको छ। उनको पहिलो भेट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ। लिउकै निमन्त्रणामा लामिछाने चीन भ्रमणमा जान लागेका हुन्।
लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौड्याल पनि सहभागी हुने जनाइएको छ। बेइजिङपछि लामिछाने नेतृत्वको टोली तिब्बत हुँदै कैलाश मानसरोवरसम्म जाने कार्यक्रमसमेत तय भएको छ।
यसअघि गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमण गरेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। उनले भाजपा अध्यक्ष नितिन नवीनलगायत अन्य भारतीय नेताहरूसँग पनि छलफल गरेका थिए।




















