काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ। खड्का निवास गल्फुटारमा भएको भेटवार्तामा कांग्रेसको आगामी राष्ट्रिय भेलालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
आगामी शुक्रबार काठमाडौंको सुकेधारामा आयोजना हुन लागेको राष्ट्रिय भेलाका विषयमा छलफल गर्न कोइराला खड्का निवास पुगेका थिए। कांग्रेसको इतर समूहले कोइरालालाई राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजकको जिम्मेवारी दिएको छ।
भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए। कोइरालाले पूर्वउपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
तिवारीका अनुसार कोइरालाको आग्रहप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेका छन्।
पछिल्लो समय खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि उनी राष्ट्रिय भेलामा सहभागी हुने–नहुने विषयमा विभिन्न अड्कलबाजी हुँदै आएको थियो। खड्का र कोइरालाबीचको भेटवार्तापछि भने उनको भेलामा सहभागिताको सम्भावना बढेको देखिएको छ।




















