काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा पूर्वप्रमुख सचेतक महेश बर्तौलाले नयाँ संसदको कार्यकाल सुरु भएको चार महिनामै प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक रोक्नुपर्ने अवस्था आउनु गम्भीर संसदीय लज्जाको विषय भएको बताएका छन्।
बर्तौलाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेका कारण खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने सरकारी प्रस्तावसमेत निर्णयार्थ पेश हुन नसकेको भन्दै सांसदहरूको संसदीय कामकारबाहीप्रतिको उदासीनता र गैरजिम्मेवारीपन उजागर भएको बताएका हुन्।
उनका अनुसार नेपालको संविधानको धारा ९४ बमोजिम कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको बैठकमा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्छ। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८१ सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ पेश हुन नसक्नु सामान्य विषय नभएको उनको भनाइ छ।
‘सरकार आफ्नै, बहुमत आफ्नै, विधेयक आफ्नै तर दुर्भाग्य संसदमा आफ्नै सांसद छैनन्,’ बर्तौलाले भनेका छन्, ‘चार महिनामै देखिएको सांसदहरूको यो हविगतले सत्तारुढ दल रास्वपाको संसदीय गम्भीरता, अनुशासन र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको छ।’
सरकारी प्रस्तावलाई निर्णयमा पुर्याउने दायित्व सरकार र सरकार पक्षकै हुने उल्लेख गर्दै उनले संसदको कामकारबाहीप्रति अनुत्तरदायी र निष्क्रिय सांसदबाट प्रभावकारी संसद सञ्चालन हुन नसक्ने बताएका छन्।
बर्तौलाले संसद कमजोर हुँदा जनअपेक्षा पूरा गर्न र सरकारलाई प्रभावकारी रूपमा जवाफदेही बनाउनसमेत कठिन हुने बताएका छन्। ‘संसद बैठकमै सांसद उपस्थित हुँदैनन् भने संसद कसरी प्रभावकारी हुन सक्छ?’ भन्दै उनले प्रश्न गरेका छन्।
उनले सांसदहरू भाषण गर्ने, सामाजिक सञ्जाल र सञ्चारमाध्यमका लागि सामग्री बनाउने तथा बैठक नसकिँदै निजी प्राथमिकताका लागि बाहिरिने प्रवृत्तिबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन्।
‘संसद कानुन निर्माण गर्ने सर्वोच्च विधायिकी थलो हो, सामाजिक सञ्जाल र सार्वजनिक मिडियाका लागि निजी प्रचारमुखी कन्टेन्ट बनाउने मञ्च मात्र होइन,’ बर्तौलाले भनेका छन्।
नयाँ संसदको कार्यकाल सुरु भएको छोटो अवधिमै सांसदहरूको सार्वजनिक व्यवहार, विलासी प्रदर्शन र संसद बैठकमा देखिएको अनुपस्थितिले ‘Right Person in the Right Place’ को सिद्धान्तमाथि समेत प्रश्न उठाएको उनको टिप्पणी छ।
सांसद बन्ने योग्यता केवल निर्वाचन जित्नु मात्र नभई जिम्मेवारी पूरा गर्ने नैतिकता, अनुशासन र कर्तव्यनिष्ठासमेत भएको बर्तौलाले बताएका छन्। आफूले बोलेका विषयमा स्वयं जवाफदेही नहुने सांसदले अरूलाई नैतिकता र जिम्मेवारीको पाठ पढाउन नसुहाउने उनको भनाइ छ।
‘पहिला सांसद आफैँ जिम्मेवार, नैतिक र कर्तव्यनिष्ठ हुनुपर्छ अनि मात्र अरूलाई प्रश्न गर्ने नैतिक अधिकार सुरक्षित रहन्छ,’ बर्तौलाले भनेका छन्।
उनले संसदप्रतिको जनविश्वास कायम राख्न सांसदहरू समयमै सचेत हुनुपर्ने बताएका छन्। संसदको कामकारबाहीप्रति देखिएको यस्तो उदासीनता निरन्तर रहिरहे जनतामा संसदप्रतिको विश्वासमा गम्भीर क्षति पुग्न सक्ने उनको चेतावनी छ।




















