काठमाडौं । पर्सामा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट दुई वटा मोटरसाइकलमा सवार चार जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकल खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी जिल्ला डुमरा थाना निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ४ हजार ५ थान, ५ सय दरका २ हजार ३ सय ५३ थान, १ सय दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नोट बरामद गरेको जनाएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेपछि चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




















