काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने भएको छ। स्थानीयवासीले आन्दोलन चर्काएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको योजना यथावत् अघि बढ्ने स्पष्ट पारेकी हुन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको छ। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई एकैसाथ अघि बढाएको उनको भनाइ छ।
मन्त्री मेहताले लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध रहेको बताइन्। अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, पर्याप्त बिरामीको चाप तथा ब्लड बैंकलगायतका सुविधा रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिइन्।
‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।’
एक स्थानमा दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माण भइरहँदा अर्को स्थानमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको उनले स्पष्ट पारिन्। सरकारको नीति आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ।
‘हाम्रो उद्देश्य एउटै हो, दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ उनले भनिन्।
मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनाको कामलाई निरन्तरता दिन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा उपलब्ध गराउने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षसँग सहयोगको आग्रहसमेत गरेकी छन्।




















