काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले नेपालको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै संसद्को कार्यशैली सुधार गर्न छुट्टै ‘संसदीय सुधार समिति’ गठन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले वर्तमान संसदीय अभ्यासले सांसदहरूको क्षमता र भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको बताए।
उनले अहिलेको संसदीय अभ्यासप्रति सांसदहरू नै कति सन्तुष्ट छन् भन्ने विषयमा एकपटक सर्वेक्षण गर्नुपर्ने धारणा राखे।
‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु,’ उनले भने, ‘के हामी सबै सांसद अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ?’
आचार्यले अधिकांश सांसदको बुझाइ पनि आफ्नो जस्तै भए संसद्को अभ्यास र कार्यशैलीमा सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।
उनले संसद्लाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन संसदीय सुधार समिति गठन गरेर आवश्यक अध्ययन तथा सुधारका काम अघि बढाउनुपर्ने प्रस्ताव गरे।
‘मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेको संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने।
सांसद आचार्यले आफ्नो प्रस्तावबारे सभामुखको समेत ध्यानाकर्षण गराएका छन्।




















