काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन सरकारी सञ्चारमाध्यम वा आधिकारिक सरकारी माध्यमबाट नभई व्यक्तिगत फेसबुकमार्फत सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले प्रधानमन्त्रीको सम्बोधन व्यक्तिगत फेसबुक खाताबाट सार्वजनिक हुनु राज्यको संस्थागत प्रक्रियामाथिको प्रश्न भएको बताइन्।
‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मोनिटाइजेसन बढाउनुभएको हो?’ उनले प्रश्न गरिन्।
उनले डिजिटल प्रविधिको प्रयोग आवश्यक भए पनि राज्यका आधिकारिक संस्थालाई बाइपास गरेर सामाजिक सञ्जालमार्फत शासन सञ्चालन गर्न नहुने बताइन्।
‘डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ। तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन,’ उनले भनिन्।
घतानीले देश सामाजिक सञ्जालको पहुँचबाट नभई संविधान र राज्यका संस्थागत संरचनामार्फत सञ्चालन हुनुपर्नेमा जोड दिइन्।
साथै, उनले प्रधानमन्त्रीका विवादित अभिव्यक्ति सच्याउनुपर्ने र त्यस्ता अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत राखिन्।




















