काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग साँठगाँठ गरेको आरोप लगाएका छन्।
कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट गगन थापाले रास्वपाको सहयोगमा चुनाव जितेको दाबी गरे।
उनले गगन समूहले रास्वपासँग मिलेर चुनाव जितेको आरोप लगाउँदै भने, ‘नौटंकी गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं–४ मा जितेको हो।’
बस्नेतले चितवनमा समेत कांग्रेसले रास्वपालाई सहयोग गरेको दाबी गरे। उनले कांग्रेसभित्र अहिले पनि छलछाम र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए।
उनले आफूहरू कांग्रेसलाई ‘धोई पखाली’ गरेर इमानदार र सक्षम पार्टी बनाउने अभियानमा रहेको बताए।
‘मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ,’ उनले भने, ‘यो बकवास गरेर दुई–चार दिनका लागि चटक देखाउने कांग्रेस होइन। मुलुक, जनता र प्रजातन्त्रका लागि सधैँ लड्ने कांग्रेस हो।’
बस्नेतले कांग्रेसलाई थप सुदृढ र जनमुखी बनाउन आफूहरू सक्रिय रहेको पनि बताए।




















