काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय तहसम्मका पार्टी नेताहरूलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र गरेको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले प्रदेश तथा जिल्ला तहबाट महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई भेलामा सहभागी हुन आग्रह गर्दै पत्र पठाएका हुन्।
संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकतामाथि देखिएका चुनौतीका साथै नेपाली कांग्रेसभित्रको पछिल्लो विवादबारे छलफल गर्ने तयारी छ।
कांग्रेसको पछिल्लो आन्तरिक विवादकाबीच इतर समूहले राष्ट्रिय भेला बोलाएको हो। सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गरेको हो।
आयोजकका अनुसार भेलालाई पूर्वसभापति देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम छ।




















