काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रोपाइँको समय सकिँदासमेत किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले मधेससहित देशका विभिन्न भागमा रोपाइँ सकिन लाग्दासमेत रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू समस्यामा परेको बताएका हुन्।
उनका अनुसार सरकारले समयमा नै पर्याप्त रासायनिक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम हुन सकेको छैन। उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक रहेको उनले उल्लेख गरेका छन्।
प्रचण्डले नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल भएकाले समयमै पूर्वतयारी आवश्यक हुने बताएका छन्। आफ्नो नेतृत्वको तत्कालीन सरकारले यही विषयको गम्भीरता बुझेर समयमै मल आयात तथा वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनको दाबी छ।
उनले भनेका छन्, ‘मल आयात तथा वितरणको गम्भीरता बुझेर मेरो नेतृत्वको तत्कालीन सरकारले समयमै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको विदितै छ।’
प्रचण्डले तत्काल रासायनिक मलको आयात प्रक्रिया सम्पन्न गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै, आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न, कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न र किसानलाई सहज, पारदर्शी तथा समन्यायिक रूपमा मल वितरण गर्न उनले सरकारसँग आग्रह गरेका छन्।




















