काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब ४५ मिनेटको भेटवार्तामा दुवै देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पनि भारतसँग नेपालको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यसैबीच, प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने भएका छन्। चिनियाँ राजदूतसँग दिउँसो ३ बजे भेटवार्ताको समय तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।




















