जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले ढल्केबरमा आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।
आन्दोलनकारीले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्गमा चक्काजाम गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
गत शुक्रबार संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। यसअघि बुधबार संसद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी गराएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको हो।
संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरिएको छ। उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिनेछ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केवर गाविस वडा नं. २‘क’ को कित्ता नं. १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार मानेर ट्रमा सेन्टर निर्माणको योजना अघि बढाइएको थियो।
मेयर महतोका अनुसार उक्त योजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ भने जग्गाको लालपुर्जासमेत बनिसकेको छ। ट्रमा सेन्टरको शिलान्यासको तयारी भइरहेका बेला योजना अन्यत्र सार्ने निर्णयले स्थानीयवासी आक्रोशित बनेको संघर्ष समितिको भनाइ छ।
संघर्ष समितिले सरकारले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्ने निर्णय कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।




















