काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन् ।
शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव आइतबार तिलौराकोट सामुदायिक जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका इन्सपेक्टर दीपक कुँवरका अनुसार जंगलको बीचमा सिंहको शव भेटिएको सूचना आएपछि इलाका प्रहरी कार्यालय गोरुसिंगे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली तथा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो ।
सिंह शुक्रबार दिउँसो करिब ३:३० बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट गोरुसिंगे जंगल क्षेत्रमा रहेको कृषि फार्ममा जाने भन्दै एक्लै मोटरसाइकलमा निस्किएका थिए । उनी तौलिहवाबाट जंगलतर्फ गएको सीसीटिभी फुटेजमा समेत देखिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ करिब ५:३० बजे सिंहले कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खानलाई फोन गरेका थिए । फोनमा आफू जंगलमा बाटो बिर्सिएर हराएको बताएका थिए । सिंहसँग छोटो संवाद भएको र त्यसबारे आफूले तत्कालै प्रहरीलाई जानकारी गराएको वडाध्यक्ष खानले बताए ।
सिंहको खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो । मोटरसाइकल भेटिए पनि त्यसबेला सिंहको अवस्था अज्ञात थियो ।
प्रहरीले मोटरसाइकल भेटिएको आसपास क्षेत्रमा खोजी तीव्र पारेपछि आइतबार त्यही क्षेत्र नजिकै सिंहको शव फेला परेको हो । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए । उनी हाल नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिका सदस्य थिए ।
सिंहको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए ।
पछिल्लो समय उनले गोरुसिंगे जंगल क्षेत्रमा पर्ने डकेरीमा कृषि फार्म सञ्चालनको काम अघि बढाएका थिए । फार्ममा माछा तथा कुखुरापालनको काम हुँदै आएको थियो भने भवन निर्माणसमेत भइरहेको थियो । सोही फार्ममा जाने उद्देश्यले सिंह शुक्रबार घरबाट निस्किएको पारिवारिक स्रोतले जनाएको छ ।




















