काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्न आह्वान गरेका छन् ।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई शुभकामना व्यक्त गरेका हुन् ।
नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गर्दै उनले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य अझ बलियो बनाउने बताएका छन् ।
ओलीले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको उल्लेख गरेका छन् ।
‘हाम्रो संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ,’ ओलीले सन्देशमा भनेका छन् ।
उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।
विश्व आदिवासी जनजाति दिवसले आदिवासी समुदायको अधिकार, पहिचान, संस्कृति र योगदानको सम्मान गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै ओलीले सबै आदिवासी जनजाति समुदायप्रति पुनः शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा ओलीले लेखेका छन्
“विश्व आदिवासी दिवसको शुभकामना !
आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।
हाम्रो संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ। यस समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान गर्दछु।
सबैलाई फेरि शुभकामना !”




















