कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् । ६५ वर्षीय सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुरसहित ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीय परिचालन गरेको छ ।
सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगलभित्र फेला परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र शुक्रबार दिउँसो मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिए पनि सिंहको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीका लागि तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी तथा स्थानीय परिचालन गरिएको छ ।
प्रहरीका अनुसार सिंह शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सीसीटिभी फुटेजमा उनी दिउँसो करिब सवा ३ बजे रामराज पुलसम्म पुगेको देखिएको छ ।
त्यसपछि सिंहको मोबाइलबाट आफन्तलाई ‘मैले जंगलमा बाटो बिर्सिएँ’ भन्ने जानकारी आएको पाइएको छ । तर उनी सम्पर्कविहीन भएको सूचना प्रहरीकहाँ भने शुक्रबार साँझ करिब ६ बजे मात्रै पुगेको थियो ।
प्रहरीले सिंहको खोजीलाई तीव्र बनाउँदै कल डिटेललगायत प्राविधिक विवरणका आधारमा समेत अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
सिंहको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए । उनी नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा अघिल्लो कार्यकाल निर्वाचित भएका थिए ।




















