काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता तथा लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् ।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त संवैधानिक उपलब्धि कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताएका हुन् ।
नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गर्दै उनले यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताए । उनका अनुसार आदिवासी जनजातिसहित सबै नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट यी अधिकार स्थापित भएका हुन् ।
‘सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भइरहेको महसुस हुन थालेको छ,’ आङ्देम्बेले भनेका छन् ।
उनले संविधानमा रहेका कमजोरी र समस्यालाई संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने भए पनि संविधानका मूल उपलब्धिलाई कमजोर बनाउन नहुनेमा जोड दिए ।
आङ्देम्बेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्ने बताए । राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व कायम गर्दै पहिचानसहितको संघीयतालाई संस्थागत गर्नुपर्ने उनको भनाइ छ ।
विश्व आदिवासी दिवस आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति तथा अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानलाई स्मरण गर्ने अवसर भएको उल्लेख गर्दै उनले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न सबैलाई आह्वान गरेका छन् ।




















