काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा अहिले शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीदेखि मन्त्री र सत्तारुढ दलका सांसदसम्मको व्यवहारले राज्य सञ्चालनमा अराजकता देखिएको टिप्पणी गरे। उनले कर्मचारीलाई हप्काउने, उत्तेजक अभिव्यक्ति दिने र संवैधानिक निकायमाथि हस्तक्षेपजस्ता गतिविधि चिन्ताजनक भएको बताए।
संविधान संशोधनको विषयमा पनि उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यसलाई हल्का रूपमा लिन नहुने बताए। रास्वपाका नेताहरूलाई आफूले संविधान संशोधन ‘भाँडाकुटी खेलेजस्तो विषय होइन’ भनेर सचेत गराएको उल्लेख गर्दै उनले संविधानप्रति अपरिपक्व दृष्टिकोणले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिए।
थापाले लोकतान्त्रिक मूल्य, विधिको शासन र संवैधानिक प्रक्रियाको संरक्षणमा सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए।




















