काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेटमा विराटनगर–७ स्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि २ करोड रुपैयाँ छुट्याइएको थियो।
सरकारप्रति आभार व्यक्त गर्दै शेखर कोइरालाले राज्यका सीमित स्रोत–साधन अभावमा रहेका नागरिकको हितमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।
प्रजातन्त्रको विगुल फुक्ने कोइराला निवास गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले जलाएका थिए ।
घर जलाउनु अघि आन्दोलनकारीहरूले तोडफोड र लुटपाट गरेका थिए । जसका कारण घरभित्र रहेका ऐतिहासिक सामग्रीहरू नष्ट भएका छन्।
निवासको पुरानो संरचना जलेर खरानी भएपछि पुनर्निर्माण थालिएको हो ।
मन्त्रालयलाई उनले लेखेको पत्रमा देशमा अझै धेरै नागरिक अभाव र कठिनाइमा जीवन बिताइरहेको उल्लेख गर्दै त्यस्ता नागरिकको उत्थानका लागि सरकारी स्रोत उपयोग हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
विपी सम्पूर्ण नेपालीको गाँस, वास र कपासको लागि जीवनभर संघर्षरत रहेका उल्लेख गर्दै कोइरालाले राज्यले त्यसतर्फ समग्र रुपमा आफूलाई समर्पित गरेमा विपीप्रति सच्चा श्रद्धाञ्लली र कोइराला निवासप्रति न्याय हुने जनाएका छन् ।




















