काठमाडौं । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल घटनास्थल पुगेका थिए। संयुक्त प्रयासपछि बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीका कारण ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनापछि केही समय अवरुद्ध बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




















