काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारलगायतको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएको छ।
पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदका कारण धेरै नेताहरू यसअघि नै अलग भइसकेका थिए। अब अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमतिमा पुगेपछि पार्टी औपचारिक रूपमा विभाजनको चरणमा पुगेको हो।
सहमतिअनुसार बाबुराम भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय बनाइने भएको छ। उक्त पार्टीको नेतृत्व दुर्गा सोबले गर्नेछिन्। नयाँ शक्तिको चुनाव चिह्न ‘आँखा’ नै कायम राख्ने सहमति भएको जनाइएको छ।
यता सन्तोष परियारको नेतृत्वमा भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नै निरन्तर रहनेछ। यस पार्टीका लागि ‘आँखा’ बाहेक तीन रङ समेटिएको नयाँ चुनाव चिह्न लिन आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।
यसअघि नै प्रलोपाबाट सुदन किराँती, ओजस्वी भट्टराईलगायतका नेताहरू अलग भइसकेका छन्।






















