काठमाडौं । प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा झारेको छ।
पाकिस्तानको कराकोरम क्षेत्रस्थित ब्रोड पिकको करिब पाँच हजार मिटर उचाइमा एक सातादेखि अड्किएका निम्सदाइ पुर्जा, निमा शेर्पा र चिनियाँ पर्वतारोही झोङ वाङको शव बुधबार बेस क्याम्पमा ल्याइएको हो। पाकिस्तान अल्पाइन क्लबले निम्सदाइ, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव बेस क्याम्पमा ल्याइएको पुष्टि गरेको छ।
मिङ्मा जी नेतृत्वको उद्धार टोलीमा पाकिस्तानका सिर्बाज खान, आबिद बेग, शेरबाज तथा ‘इम्याजिन नेपाल ट्रेक्स’का दीपेन गुरुङ र पेमा छेवाङ शेर्पा सहभागी थिए। टोली बुधबार बिहान बेस क्याम्पबाट केही घण्टामै शव रहेको स्थानमा पुगेको थियो।
उद्धारकर्ताका अनुसार तीनवटै शवलाई पहाडको समथर स्थानमा झारिएको छ, जहाँ यसअघि नै किली पेम्बा शेर्पा ‘किलु’ र ग्यालु शेर्पाको शव राखिएको थियो।




















