काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारी गतिविधि रोक्न आवश्यक परे एमाले सडक आन्दोलनमा उत्रिन तयार रहेको बताएका छन्। उनले पार्टीका नेता–कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनका लागि तयार रहन निर्देशनसमेत दिएका छन्।
दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार गठन भएको चार महिना मात्रै भएकाले तत्काल विकल्प खोज्ने अवस्था नरहेको बताए। तर सरकार स्वेच्छाचारी ढंगले अघि बढे त्यसविरुद्ध जनतासहित सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्दै सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने आवश्यकता औंल्याए। साथै संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणमा एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीलाई पनि निरन्तर सुधार गर्दै लैजाने बताए।
भदौ २४ गतेको घटनासँग सम्बन्धित मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रसंग उल्लेख गर्दै पोखरेलले सुनसरी घटनामा पनि वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजनीतिक जिम्मेवारी लिनुपर्ने दाबी गरे।
उनले विगतमा सुरक्षा निकायको बल प्रयोगको राजनीतिक जिम्मेवारी भन्दै तत्कालीन नेतृत्वमाथि कारबाही गरिएको स्मरण गराउँदै अहिलेको सरकारले पनि दोहोरो मापदण्ड अपनाउन नहुने बताए। उनका अनुसार, यदि वर्तमान नेतृत्वले विगतको निर्णय गलत थियो भनेर स्वीकार गर्दैन भने प्रधानमन्त्री र गृहमन्त्रीले पदबाट राजीनामा दिएर कानुनी प्रक्रियाका लागि मार्ग प्रशस्त गर्नुपर्छ।
पोखरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको विषयप्रति पनि असन्तुष्टि जनाए। सम्पत्ति शुद्धीकरण कानुनको प्रयोग विवेकपूर्ण हुनुपर्ने उल्लेख गर्दै उनले कर प्रणालीका जटिलताका कारण आयको स्रोत पुष्टि गर्न नसकेका व्यक्तिलाई नै कालोधनसँग जोडेर कारबाही गर्न थालिए त्यसले मुलुकका धेरै व्यवसायी प्रभावित हुने चेतावनी दिए।




















