काठमाडौं । गोकर्ण क्षेत्रमा बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग भएको भनिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले संयमित र जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेको छ ।
सडक विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र रहेको सेनाको संरचना हटाउने विषयमा सांसद पाण्डे र सुरक्षामा खटिएका सैनिक अधिकारीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले राजनीतिक चर्चा पाएको हो ।
स्रोतका अनुसार घटनापछि प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री सचिवालयका एक सदस्यले सांसद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
छलफलका क्रममा प्रधानमन्त्रीको नाम अनावश्यक रूपमा प्रयोग नगर्न, सुरक्षा निकायसँग संवाद गर्दा संयमित तथा जिम्मेवार व्यवहार अपनाउन र सार्वजनिक अभिव्यक्ति दिँदा सावधानी अपनाउन सुझाव दिइएको स्रोतले जनाएको छ ।
यता, सांसद पाण्डेले आफू प्रधानमन्त्री कार्यालय पुगेको स्वीकार गर्दै उक्त भेट नियमित भेटघाटकै सिलसिला भएको बताएका छन् ।
विवादपछि विज्ञप्ति जारी गर्दै पाण्डेले नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको स्पष्ट पारेका छन् । प्रारम्भिक चरणमा सामान्य समन्वयको कमीका कारण विवादको अवस्था सिर्जना भएको दाबी गर्दै उनले त्यसपछि नेपाली सेनासँग पूर्ण सहकार्य र समन्वयमा बागमती करिडोर विस्तारको काम अघि बढाइएको बताएका छन् ।
सांसद पाण्डेले यसअघि पनि घटनाका क्रममा आफूले कुनै प्रकारको धम्की वा दुर्व्यवहार नगरेको दाबी गर्दै आफूले स्थानीय बासिन्दाको लामो समयदेखिको समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गरेको बताएका थिए ।




















