धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक माथिबाट एक्कासि ठूलो सुक्खा पहिरो खसेपछि राजमार्गमा दुवैतर्फ सवारी साधन रोकिएका छन्। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरी, सडक डिभिजन तथा सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर डोजरको सहायताले पहिरो पन्छाउने कार्य गरिरहेको छ।
इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी सुरज कार्कीका अनुसार पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित काम भइरहेको उनले बताए।




















