काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरीको कप्तानगञ्ज र सिरहामा सर्वसाधारणको ज्यान जाने गरी भएका घटनाको स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन् ।
कप्तानगञ्जमा गत आइतबार भएको घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको र उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी, सिरहाको गोलबजारमा बिहीबार भएको झडपमा थप एक जनाको मृत्यु भएको भन्दै एमालेले दुवै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गरेको हो ।
सांसद बरालले चार जनाको ज्यान गएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्रीले लिनुपर्ने मागसमेत गरे ।
बैठक सुरु भएलगत्तै उनले घटनाको वास्तविक कारण पहिचान गर्न स्वतन्त्र नागरिक समिति गठन गर्नुपर्ने बताए ।
सांसद बरालले घटनाको निष्पक्ष छानबिनमार्फत दोषी पहिचान गरी कारबाही गर्न तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।




















