काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले नेपाल–भारत सीमा सुरक्षा तथा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रवेशको विषय संसद्मा उठाउँदै सरकारसँग जवाफ माग गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरामा भारतीय गतिविधि र सुस्तामा भएको पछिल्लो घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। उनले, ‘नेपाली भूमि लिपुलेक/लिम्पियाधुरामा गाडी गुडायो, सुस्तामा तटबन्ध भत्कायो, तीन जना युवालाई घाइते बनायो। सीमाको सुरक्षा कहिले हुन्छ ? र भारतीय दादागिरीको अन्त्य कहिले हुन्छ, सरकार ?’ भन्दै प्रश्न गरे।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय एसएसबीले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि दुई देशबीच सीमा विवादको विषय पुनः चर्चामा आएको छ। स्थानीय स्रोतका अनुसार करिब १५ जना सादा पोसाकधारी र करिब ६० जना हतियारसहितका एसएसबी जवान उक्त क्षेत्रमा प्रवेश गरेका थिए।
उक्त घटनाप्रति संसद्मा अन्य सांसदहरूले पनि चासो व्यक्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालकी राष्ट्रिय सभा सदस्य पूजा चौधरीले पनि सुस्ता घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारसँग आग्रह गरिन्।
सांसदहरूले सीमा अतिक्रमण तथा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौतीप्रति सरकारले स्पष्ट धारणा र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।




















