काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको कारमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि उनीहरू बेपत्ता भएका छन्।
प्रहरीका अनुसार कारमा फिक्कल गाउँपालिका–५ निवासी पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका अर्का एक जना सवार थिए।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ। नेपाल प्रहरीको टोली पनि घटनास्थलमा खोजी कार्यमा खटिएको छ।
प्रहरीका अनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बेपत्ता भएका तीनै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ




















