काठमाडौं । राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल दर्ताको तयारीमा रहेका नेता डा. धवलशम्सेर राणाले राष्ट्रवादी अभियानका अभियन्ता दुर्गा प्रसाईँलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार जारी विज्ञप्तिमा राणाले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा प्रसाईँलाई साउन १७ गते राति निवासबाट पक्राउ गर्नु निन्दनीय भएको उल्लेख गरेका छन्। प्रसाईँलाई आइतबार राति प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो।
राणाले लोकतान्त्रिक व्यवस्थामा आलोचना, फरक विचार र मत–अभिमतलाई सम्मान गरिनुपर्ने भन्दै ती लोकतन्त्रका आधारभूत स्तम्भ भएको बताएका छन्। उनले नागरिकप्रति सरकारको जवाफदेहिता, लोकतान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा सरकारको आलोचना गर्न नपाइने अवस्था सिर्जना भए लोकतान्त्रिक शासन प्रणालीको मूल मर्म नै कमजोर हुने भन्दै प्रसाईँलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरिएको छ।




















