काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख तथा गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको काठमाडौंमा बसेको बैठकले तराई–मधेसमा विकसित दुःखद् घटनाको समीक्षा गर्दै हिंसा, साम्प्रदायिक विभेद, धार्मिक असहिष्णुता वा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने निष्कर्ष निकालेको हो।
राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय ढंगबाट भएको हत्याको समेत निन्दा गरेको छ। तराई–मधेसमा तनाव कायम रहेको अवस्थामा यस्ता घटनाले सामाजिक सद्भावमा थप असर पार्न सक्ने भन्दै राप्रपाले सरकारलाई संवेदनशील भएर काम गर्न आग्रह गरेको छ।
राप्रपाका अनुसार प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानु तथा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिनु चिन्ताजनक विषय हो। राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण नगर्दा तराई–मधेसमा तनावपूर्ण अवस्था सिर्जना गर्न बल पुग्ने पार्टीको भनाइ छ।
पार्टीले समस्याको समाधान दमन र गोली प्रहारबाट खोज्न उपयुक्त नहुने स्पष्ट गर्दै लोकतन्त्रको सार संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मानमा निहित रहेको जनाएको छ। घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन सरकारसँग राप्रपाले जोडदार माग गरेको छ।
विशेषगरी तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक महोत्सवका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न हुनु गम्भीर विषय भएको राप्रपाले जनाएको छ। धार्मिक संवेदनशीलतामाथि भइरहेको प्रहारका कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाको कमजोरी तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिएको छ।
राप्रपाले पटक–पटक दोहोरिने यस्ता घटनालाई सदाका लागि अन्त्य गर्न सर्वपक्षीय समिति गठन गरी सरकारले तत्काल संवादको थालनी गर्नुपर्ने धारणा पनि अघि सारेको छ। आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता प्रदान गर्न सरकारसँग पार्टीले माग गरेको छ।
राप्रपाले २०६२/६३ को राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक भएको निष्कर्षसमेत निकालेको छ। राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता तथा सामाजिक एकतालाई पर्याप्त महत्व नदिई संविधान, ऐन, कानुन तथा नीतिगत व्यवस्थाले अपेक्षित राष्ट्रिय एकता सुदृढ गर्न नसकेको पार्टीको ठहर छ।
राप्रपाले वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेको छ। बरु नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता, समान अधिकार र पारस्परिक सम्मानलाई संस्थागत गर्न आफूले यो अवधारणा अघि सारेको जनाएको छ।
पार्टीले नेपालको मौलिक राष्ट्रिय चरित्रलाई संवैधानिक रूपमा पुनःप्रतिष्ठित गर्नु आजको मात्र आवश्यकता नभई भविष्यप्रतिको जिम्मेवारीसमेत भएको उल्लेख गरेको छ। पछिल्ला दुई दशकको अभ्यासले हिन्दुराष्ट्र नेपालको आवश्यकतालाई पुष्टि गरेको दाबी गर्दै राप्रपाले त्यसअनुरूप बहस प्रारम्भ गर्न सबैलाई आह्वान गरेको छ।
साथै राप्रपाले सम्पूर्ण नेपालीलाई संयम, विवेक, सहिष्णुता तथा राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेको छ। नेपाली समाजको शक्ति विभाजनमा नभई एकता, वैमनस्यतामा नभई सहअस्तित्व र अस्थिरतामा नभई साझा राष्ट्रिय उद्देश्यप्रतिको प्रतिबद्धतामा रहेको पार्टीले जनाएको छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बहुसंख्यकको सम्मान र अल्पसंख्यकको संरक्षण नेपालको राष्ट्रिय चरित्र भएको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र दीर्घकालीन शान्तिको साझा चाहनामाथि कुनै पनि गतिविधिबाट कुठाराघात हुन नहुनेमा सचेत गराइएको छ।





















