काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल पछिल्लो समय तराई–मधेस क्षेत्रमा विकसित घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सांसदहरू रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य र गजाला शमिम मिकरानीलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री साहले यसअघि शुक्रबार नै मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि पछिल्लो परिस्थितिबारे छुट्टै परामर्श गरेका थिए । तराई–मधेस क्षेत्रमा शान्ति सुरक्षा तथा विकसित घटनाक्रमका विषयमा प्रधानमन्त्रीले सरोकारवाला पक्षसँग निरन्तर संवाद गरिरहेकाे सचिवालयले जनाएको छ ।
साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच बोलबमका विषयमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
घटनापछि तराईका विभिन्न जिल्लामा विरोध तथा आन्दोलनका गतिविधि बढेका छन् । सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति सुव्यवस्था कायम गर्न सरकारले विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ ।



















