काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग समसामयिक सुरक्षा अवस्था र पछिल्ला घटनाक्रमबारे छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई शान्तिपूर्ण रूपमा समाधान गर्ने उपायबारे विचार–विमर्श भइरहेको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेस केन्द्रित तथा अन्य राजनीतिक दलका नेताहरू सहभागी छन्।
बैठकमा मधेसमा शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने र पछिल्ला घटनाबाट उत्पन्न तनावलाई संवाद र सहकार्यमार्फत समाधान गर्ने विषयमा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




















