काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा विकसित भएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सामाजिक, धार्मिक र जातीय सद्भाव, मेलमिलाप तथा भ्रातृत्व नेपालको ऐतिहासिक पहिचान र गौरवशाली परम्परा भएको उल्लेख गरेका छन्। यही परम्परालाई अक्षुण्ण राख्दै मुलुकमा शान्ति, सुव्यवस्था र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवा र सम्पूर्ण नेपाली नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।
राष्ट्रपतिले उत्पन्न परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुरक्षा र सुव्यवस्था पुनःस्थापित गर्न सरकार आवश्यक प्रयासमा जुट्ने विश्वास पनि व्यक्त गरेका छन्। साथै, वर्तमान अवस्थालाई थप जटिल बन्न नदिई समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा उनले जोड दिएका छन्।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।




















