काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न क्षेत्रमा हालै भएका द्वन्द्व र तनावपूर्ण घटनाप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन तथा आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सन्देशमा उनले सुनसरीमा भएको घटनाबाट जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेश तथा तराईका विभिन्न क्षेत्रमा फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले यही विविधता देशको गौरव र पहिचान भएको उल्लेख गर्दै उनले यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
सन्देशमा नेपाली समाज परम्परादेखि नै मेलमिलाप, सहिष्णुता र सद्भावका आधारमा अघि बढ्दै आएको उल्लेख गर्दै देशको मौलिक मूल्य र मान्यताविपरीत हुने यस्ता अवाञ्छित घटनाले चिन्ता बढाएको जनाइएको छ।
पूर्वराजा शाहले देशको जुनसुकै भूभागमा रहेका नेपालीबीच एकता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै सबैलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।




















