काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेशबाट निर्वाचित सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी पछिल्लो घटनाक्रममा गृहमन्त्रीले अपनाएको कार्यशैलीबारे गुनासो गरेका हुन्।
सांसदहरूले सुनसरीबाट सुरु भएको घटनाले मधेशका विभिन्न जिल्लामा असर पारिसकेको अवस्थामा सम्बन्धित क्षेत्रका सांसदहरूसँग गृहमन्त्रीले आवश्यक समन्वय र छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
भेटमा सहभागी एक मधेशी सांसदका अनुसार, सुनसरीको घटनापछि अवस्था संवेदनशील बन्दै गइरहेका बेला स्थानीय प्रतिनिधिहरूसँग पर्याप्त संवाद नगरेको विषय सभापति लामिछानेसमक्ष उठाइएको थियो।
छलफलका क्रममा सभापति लामिछानेले पछिल्लो घटनाक्रमप्रति आफू गम्भीर र संवेदनशील रहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल गर्ने धारणा राखेका थिए। उनले आवश्यक परे स्वयं मधेशको भ्रमण गर्ने तयारीसमेत रहेको जानकारी दिएको भेटमा सहभागी एक सांसदले बताए।




















