काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहलाई अहंकार त्यागेर संवाद र सहमतिको माध्यमबाट अघि बढ्न आग्रह गरेका छन्। उनले संसद् र प्रतिपक्षसँग संवाद गर्दा प्रधानमन्त्रीको कद घट्ने नभई अझ उँचो हुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गरे। उनले देशमा विगतमा जटिल राजनीतिक परिस्थितिको निकास निकाल्ने अनुभव भएका नेता, बुद्धिजीवी र विज्ञहरूको अभाव नरहेको उल्लेख गर्दै उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कुनै कारणले रोक्नु नहुने बताए।
प्रचण्डले आफूलाई एकपटक बोलाएर भ्रष्टाचारविरुद्धको अभियान किन सफल हुन सकेन भन्नेबारे सोधे स्पष्ट पार्न तयार रहेको पनि बताए। उनले प्रधानमन्त्रीलाई आफ्नै अहंकार वा आफू मात्र पर्याप्त छु भन्ने सोचले संवादबाट टाढा राखेको हो भने त्यो दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।
उनले संसद्को लोकतान्त्रिक परम्पराको सम्मान गर्न पनि सरकारलाई आग्रह गरे। प्रधानमन्त्रीका केही अभिव्यक्तिले असहज अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले संसद्मा उपस्थित भएर आवश्यक स्पष्टीकरण दिनुपर्ने बताए। संसद्मा आएर जवाफ दिँदा प्रधानमन्त्रीको कद घट्ने होइन, झन् बढ्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा प्रचण्डले नेपाली उखान उद्धृत गर्दै अनुभवबाट सिक्नुपर्ने आवश्यकता औँल्याए। उनले “कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको” भन्ने उखान स्मरण गराउँदै अनुभव र संवादलाई महत्व दिन प्रधानमन्त्रीलाई सुझाव दिए।




















