काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताले अपेक्षा गरेको परिवर्तन अझै अनुभूति गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले जनआन्दोलनको भावना र परिवर्तनको नारासहित बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे।
‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले नै परिवर्तनको अनुभूति गर्न सकेको छैन भने आम जनताले कसरी परिवर्तन महसुस गर्ने?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
पन्तले नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको हातपातको घटना र त्यसपछि देशभर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा सर्वसाधारण उपचार सेवाबाट वञ्चित हुनुपरेको अवस्थाप्रति पनि संसद्को ध्यानाकर्षण गराए।
उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा निर्दोष व्यक्ति पक्राउ परेका भए तत्काल रिहा गर्न सरकारसँग माग गरे।
सांसद पन्तले जनताको अपेक्षा र चाहनाअनुसार सरकारले आफ्नो कार्यशैलीमा सुधार ल्याउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।




















