काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहको अध्यक्षतामा सुरु भएको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल भइरहेको छ।
पछिल्ला दिनमा सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न परिस्थितिसँगै सुनसरीसहित विभिन्न जिल्लामा सामाजिक सद्भावमा असर पर्ने गतिविधि देखिन थालेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बताइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।
बैठकमा देशको समग्र सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा पछिल्लो विकसित घटनाक्रमबारे आवश्यक रणनीतिक छलफल हुने अपेक्षा गरिएको छ।




















