काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज घटनाप्रति सरकारको मौनता र भूमिकामाथि प्रश्न उठाउँदै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कुनै पनि बहानामा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास नेपालको संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको सद्भावमाथिको आक्रमण भएको बताइन्।
देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक नेपाली युवाको मृत्यु भएको उल्लेख गर्दै उनले यस्तो अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने धारणा राखिन्। साथै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिइन्।
थापाले प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा लेखेको एक पुरानो अभिव्यक्तिको स्मरण गर्दै अहिले सरकारको भूमिकासँग तुलना गरिन्। उनले त्यसबेला अरूको पीडामा आक्रोश व्यक्त गर्ने व्यक्ति अहिले प्रधानमन्त्री बनेपछि किन मौन रहेको भन्ने प्रश्न उठाइन्।
‘यो घटनापछि सरकार मौन छ। हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ। हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो? आज त्यो आवाज किन सुनिँदैन?’ भन्दै उनले प्रश्न गरिन्।
प्रधानमन्त्रीको संवेदनशीलतामाथि कटाक्ष गर्दै थापाले भनिन्, ‘के प्रधानमन्त्रीको भावना पदसँगै बदलिएको हो? कि उहाँले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ?’
उनले सरकारले घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउने र सामाजिक सद्भाव कायम राख्न प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन्।




















