काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल र नागरिकले संयमता अपनाउनुपर्ने बताएका छन्।
बुधबार सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले अहिले आरोप–प्रत्यारोप गर्नेभन्दा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।
प्रधानमन्त्री र गृहमन्त्रीको बैठकमा अनुपस्थितिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले दुवै जना आफ्नो जिम्मेवारीअनुसार काममा सक्रिय रहेको बताए।
“प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ, गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ। अहिले शान्ति र सद्भाव कायम गर्ने समय हो। अहिले चर्का कुरा गर्ने होइन। कसले बोल्यो, कसले बोलेन भन्नेभन्दा पनि सामाजिक सद्भाव नभड्कियोस् भन्ने सबैको ध्यान हुनुपर्छ,” उनले भने।
लामिछानेले वर्तमान आन्दोलन विगतका आन्दोलनभन्दा फरक प्रकृतिको रहेको उल्लेख गर्दै नागरिकको ज्यान गएको घटनालाई सबै राजनीतिक दलले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।
उनले सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सबै राजनीतिक दलको तर्फबाट सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न संयुक्त अपिल जारी गर्ने जानकारी पनि दिए।




















