सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले औपचारिक रूपमा दाबी पेस गरेका छन् ।
मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले नेकपा र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन्।
शाहीले एमालेका ९ र नेकपाका १४ गरी २३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन्।
यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले गत शनिबार पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका थिए।
सोही व्यवस्थाअनुसार शाहीले सत्ता गठबन्धनका सांसदहरूको समर्थनसहित सरकार गठनको दाबी गरेका हुन्।
मुगु प्रदेशसभा–२ बाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। अब प्रदेश प्रमुखले बहुमतको आधारमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।




















