काठमाडौं । भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत भ्रमणमा गएको विषयबारे पनि प्रश्न उठाइएको थियो। त्यसबारे आफूलाई कुनै जानकारी नभएको भन्दै जैसवालले टिप्पणी गर्न अस्वीकार गरे।
प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको हो वा होइन भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्ता पठाइएको छ।”
यद्यपि भ्रमण कहिले हुने, निमन्त्रणा कहिले पठाइएको हो वा भ्रमणको कार्यसूची के रहने भन्नेबारे भारतीय विदेश मन्त्रालयले कुनै थप विवरण सार्वजनिक गरेको छैन।




















