हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक युवक शंकास्पद अवस्थामा मृत फेला परेका छन्। प्रहरीले घटनालाई हत्या हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाएको छ।
मृतक थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आइतबार बिहान करिब ६:१५ बजे घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थल वरपर रगत भेटिएकाले घटनालाई शंकास्पद मानी अनुसन्धान तीव्र पारिएको छ। बिहान करिब ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन (स्निफर डग) शाखाको टोली पनि घटनास्थलमा परिचालन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट आश्मान गोपाली घटनास्थल नजिकै रहेको तन्दुरी स्टाफ होटल एण्ड लजमा बसेको खुलेको छ। होटल उनको नाममा बुक गरिएको थियो। उनीसँगै अर्का एक पुरुष र एक महिला पनि होटलमा बसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान र घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको छ।
मृतकका आफन्तका अनुसार आश्मान शनिबार थाहा नगरपालिकाबाट तरकारी बिक्रीको हिसाब मिलाउन हेटौँडा आएका थिए। साँझ घर नफर्किएपछि परिवार सम्पर्कविहीन बनेको थियो।
स्थानीयवासीका अनुसार आइतबार बिहान करिब ३ बजेतिर केही व्यक्तिहरू गुहार माग्दै दौडिएको आवाज सुनिएको थियो। केही व्यक्ति कुदिरहेको र झगडा भएजस्तो देखिए पनि डरका कारण कसैले हस्तक्षेप नगरेको उनीहरूको भनाइ छ। स्थानीयले आश्मानमाथि होटलको पछाडिबाट सडकतर्फ आउने क्रममा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, प्रहरीले यसबारे औपचारिक पुष्टि गरेको छैन।
प्रहरीले होटलको सीसीटीभी फुटेज, घटनास्थलबाट संकलित प्रमाण तथा अन्य प्राविधिक पक्षको विश्लेषण गर्दै घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ।
वडासदस्य उत्तम गोपालीका अनुसार आश्मान कृषि तथा पशु व्यापार व्यवसायमा संलग्न थिए। उनी तरकारी, खसीबाख्रा तथा राँगाभैँसीको व्यापार गर्दै आएका थिए। उनका परिवारमा आमा–बुवा, श्रीमती, १२ वर्षीया छोरी र ३ वर्षीय छोरा छन्।




















