काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा उनको राजीनामा स्वीकृत गरेकी हुन्।
राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिअनुसार प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जोशीले यसअघि नै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।
धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा आन्दोलन गरिरहेको थियो। शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता सम्पन्न भएपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ।
गत जुलाई १८ मा आन्दोलनले नयाँ मोड लिएको थियो। त्यसदिन आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले जबर्जस्ती उठाएर सफदरजंग अस्पतालमा भर्ना गरेको थियो।
वाङचुक र सीजेपीले संसद्को मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा संसद मार्च गर्ने घोषणा गरेका थिए। तर त्यसअघि नै प्रहरीले वाङचुकलाई आन्दोलनस्थलबाट हटाएपछि जन्तर–मन्तरमा आन्दोलन थप चर्किएको थियो।
जुलाई २० मा वाङचुकबिनै संसदतर्फ अघि बढेका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरेर रोकेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले धेरै युवामाथि कुटपिट गरेको आरोप लागेको थियो। घटनाका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि यो विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको थियो।
धर्मेन्द्र प्रधानको राजीनामापछि आन्दोलनकारीमाथि लाठीचार्ज गर्ने प्रहरीमाथि पनि कारबाहीको माग अझ सशक्त बनेको छ। यही मागको समर्थनमा कांग्रेस सांसद तथा विपक्षी दलका नेता राहुल गान्धी अन्य विपक्षी नेतासहित प्रधानमन्त्री निवासबाहिर धर्नामा बसेका थिए।



















