काठमाडौं । कलाकार राजेश हमालले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी र नागरिकबीचको सहकार्य तथा जिम्मेवारीबोध अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गरे।
हमालले पछिल्ला वर्षहरूमा सवारी साधनको संख्या तीव्र रूपमा बढे पनि त्यसअनुसार सडक तथा अन्य भौतिक पूर्वाधार विस्तार हुन नसकेको बताए। उनले समयानुकूल पूर्वाधार विकास र आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सकिने धारणा राखे।
ट्राफिक प्रहरीको कार्यसम्पादनको प्रशंसा गर्दै उनले नागरिकले पनि ट्राफिक नियम पालना र जिम्मेवारी निर्वाहमा उत्तिकै सचेत हुनुपर्ने बताए।
सडकमा देखिने हतारो र अव्यवस्थित व्यवहारप्रति टिप्पणी गर्दै हमालले चालक र पैदलयात्री दुवैको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।
‘सबै जना एकैपटक अघि बढ्न खोज्दा जाम र अव्यवस्था बढ्छ,’ उनले भने, ‘त्यसैले सडकमा ‘पहिला म’ होइन, ‘पहिला तिमी’ भन्ने संस्कारको विकास हुनु आवश्यक छ।’
उनले सडक चौडा बनाउँदैमा मात्र ट्राफिक समस्या समाधान नहुने बताउँदै प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। केही विकसित देशमा नेपालभन्दा साँघुरा सडक भए पनि उचित व्यवस्थापनका कारण यातायात सहज रूपमा सञ्चालन भइरहेको उदाहरण प्रस्तुत गर्दै काठमाडौंमा पनि व्यवस्थापन सुधारमा ध्यान दिनुपर्ने सुझाव दिए।
हमालले ट्राफिक नियमको पालना सबैका लागि लाभदायक हुने उल्लेख गर्दै यसलाई ‘विन–विन सिचुएसन’को संज्ञा दिए। नियम पालना गर्दा नागरिक र ट्राफिक प्रहरी दुवैको समय बच्ने, दुर्घटना न्यूनीकरण हुने र सडक सुरक्षा सुदृढ हुने उनको भनाइ थियो।
उनले काठमाडौंको ट्राफिक व्यवस्थापन सुधारका लागि सरकार, ट्राफिक प्रहरी, चालक, पैदलयात्री तथा सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए।




















