काठमाडौं । नेकपा (एमाले) का पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा भइरहेका गतिविधिले नेपाललाई भूराजनीतिक जटिलतामा धकेल्ने जोखिम बढाएको बताएका छन्।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै ज्ञवालीले संविधानका आधारभूत विषयहरूमा हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे।
‘संविधान संशोधनका नाममा आधारभूत विषयहरूलाई नै कैँची लगाउने काम भइरहेको छ। यसले मुलुकलाई निकै अप्ठ्यारो अवस्थामा पुर्याउने खतरा देखिएको छ,’ उनले भने, ‘संविधानमार्फत प्राप्त उपलब्धिहरू नै धरापमा पर्न थालेका छन्।’
ज्ञवालीले वर्तमान शक्ति सन्तुलन सत्तापक्षको पक्षमा रहेकाले संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीन दल एकजुट भए पनि प्रतिनिधिसभामा संशोधन रोक्ने अवस्था नरहेको टिप्पणी गरे।
उनले राष्ट्रिय सभाले केही भूमिका खेल्न सक्ने भए पनि जनस्तरमा सचेतना र दबाबबिना आफूले प्रतिगामी ठानेका संशोधनका प्रयास रोक्न कठिन हुने बताए।
ज्ञवालीले पछिल्ला केही घटनाक्रम—पश्चिमा मुलुकका भ्रमण, ‘फ्री तिब्बत’ गतिविधि तथा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै यस्ता विषयले नेपाललाई भूराजनीतिक जोखिमतर्फ धकेल्ने संकेत गरेको दाबी गरे। साथै नागरिकका अधिकार क्रमशः संकुचित हुँदै गएको आरोप पनि लगाए।
उनले मुलुकका साझा राष्ट्रिय मुद्दामा कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अहिलेको संकट केवल कम्युनिस्ट आन्दोलनको नभई समग्र मुलुककै भएको बताए।
ज्ञवालीले राष्ट्रिय हितका सवालमा सकेसम्म व्यापक राजनीतिक सहकार्यको वातावरण बनाउनुपर्ने धारणा राख्दै आवश्यक परे नेपाली कांग्रेससँग समेत सहकार्यको प्रयास गर्नुपर्ने सुझाव दिए।




















