काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने नाममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको हो।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही रकमसहित काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालयबाट नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भट्टराईले सिफारिस उपलब्ध गराइदिने प्रक्रियामा अनावश्यक झन्झट सिर्जना गर्दै घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




















