काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन गरिएको छ। विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलको विरोध गर्दै नाराबाजी गरेपछि प्रहरीले केही प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।
बिहीबार त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुगेका बेला असन्तुष्ट विद्यार्थीहरूले ‘नेपो बेबी मुर्दावाद’, ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न, योग्यता र प्रतिस्पर्धामा आधारित प्रणाली (मेरिटोक्रेसी) लागू गर्न तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
उनीहरूले ‘नेपो बेबी शिक्षामन्त्री’ र ‘मेरिटोक्रेसी लागू गर’ लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। साथै, विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने वर्तमान व्यवस्था पनि खारेज गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनका क्रममा विश्वविद्यालय परिसरमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले नाराबाजी गरिरहेका केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाको संख्या भने खुलाइएको छैन।
घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।




















