काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसका सभापति गगन थापामाथि तीखा आरोप लगाउँदै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा व्यक्त गरेको धारणा अहिले पुष्टि हुँदै गएको दाबी गरेका छन्।
बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले गगन थापा बाह्य प्रभावबाट सञ्चालित रहेको आरोप लगाए। उनले विगतमा गिरिजाप्रसाद कोइरालाले थापाबारे व्यक्त गरेको धारणा अहिलेका घटनाक्रमले पुष्टि गरिरहेको दाबी गरे।
कार्कीले “हामी अहिले सम्झिन्छौँ, गिरिजाप्रसाद कोइरालाले त्यसबेला गगन थापा कहीँबाट सञ्चालित छन् भन्नुभएको थियो, अहिले त्यो कुरा पुष्टि हुँदै गएको देखिन्छ,” भन्दै विगतमा गिरिजाप्रसाद कोइरालाविरुद्ध गरिएको विरोधको पनि स्मरण गरे।
उनले गगन थापा र उनको समूहले ‘स्पष्ट कांग्रेस’ र ‘भ्रष्ट कांग्रेस’ भनेर पार्टीभित्र विभाजनको प्रयास गरेको आरोप लगाउँदै आर्थिक गतिविधिसम्बन्धी विभिन्न दाबीसमेत गरे। साथै, थापाले नियुक्त गरेका एक उपकुलपतिको मृत्युसम्बन्धी विषयमा पनि आफूलाई जानकारी रहेको दाबी गरे।
कार्यक्रममा कार्कीले पार्टीभित्रको वर्तमान अवस्थाबारे असन्तुष्टि व्यक्त गर्दै आवश्यक परे छुट्टै राजनीतिक बाटो रोज्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखे।
उल्लेखित आरोपहरू केदार कार्कीले सार्वजनिक कार्यक्रममा व्यक्त गरेका दाबी हुन्। यस विषयमा गगन थापा वा सम्बन्धित पक्षबाट तत्काल कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।




















