काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्र आगामी मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगरले निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी सकेसम्म छिट्टै सेवा सुरु गर्ने लक्ष्य लिएको जनाएको छ।
बुधबार निर्माणाधीन केन्द्रको निरीक्षणपछि महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र प्रभावकारी बनाइने बताइन्।
उनका अनुसार हाल अधिकांश स्थानमा फोहोर खुला रूपमा छुट्याइने भएकाले प्रदूषण र स्वास्थ्य जोखिम बढिरहेको छ। त्यसलाई न्यूनीकरण गर्न टेकुमा यान्त्रिक प्रणालीसहितको आधुनिक स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो।
डंगोलले केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी (एमआरएफ) स्थापना गरिने जानकारी दिँदै जैविक र अजैविक फोहोरलाई यान्त्रिक रूपमा वर्गीकरण गरिने बताइन्। हाल हातैले गरिँदै आएको फोहोर छुट्याउने कार्य निर्माण सम्पन्न भएपछि प्रविधिमार्फत सञ्चालन गरिनेछ।
उनका अनुसार पुनः प्रयोग गर्न मिल्ने अजैविक फोहोर पुनर्चक्रणका लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन केन्द्रमा पठाइने व्यवस्था हुनेछ। साथै जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने सम्भावनाबारे पनि महानगरले योजना बनाइरहेको छ।
कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडामा लैजानुपर्ने फोहोरको मात्रा उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्दै दिगो फोहोर व्यवस्थापनतर्फ यो परियोजना महत्त्वपूर्ण कदम हुने बताइन्।




















