काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै सरकार चलाउने र प्रतिपक्ष दुवै ‘ब्रेक’बिनाको दौडमा रहेको टिप्पणी गरेका छन्।
जननायक बीपी कोइरालाको ३४औँ स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई संकेत गर्दै, “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने हो,” भने।
प्रधानमन्त्री शाहले रास्वपाको चितवनमा सम्पन्न महाधिवेशनमा वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र गन्तव्यमा पुगेपछि मात्र रोकिने बताएका थिए। थापाले सोही अभिव्यक्तिलाई व्यंग्य गर्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि टिप्पणी गरेका हुन्।
थापाले नेपाली कांग्रेस जननायक बीपी कोइरालाले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्ने बताउँदै सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी बीपीका विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गरिने बताए।
उनले जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउने उद्देश्यले विज्ञहरूसँग छलफल सुरु गरिएको र त्यसबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।
सभापति थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको जानकारी दिँदै सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको बताए। उनका अनुसार उक्त कोषबाट विस्थापित सुकुम्बासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको हितमा सहयोग गरिनेछ।




















